फागुन ६, काठमाडौं । विघटित प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका रुपमा रहेको नेपाली कांग्रेसको केन्द्रीय समितिको जारी बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
यसअघि हिजो (बुधबार) बसेको बैठकबाट १४ औं महाधिवेशनको नयाँ कार्यतालिका प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव अनुसार कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी २०७८ साल भदौ ७ गतेदेखि २० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरिएको छ । तर उक्त प्रस्ताव पारित भइसकेको छैन ।
कांग्रेसको आज बस्ने बैठकमा भने संसद विघटनविरुद्धको आन्दोलन कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्ने तयारी छ । संसद विघटन भएपनि खासै ठूलो विरोध प्रदर्शनको कार्यक्रम नगरेको कांग्रेसले अप्रत्यक्ष रुपमा संसद विघटनलाई समर्थन गरेको आरोप लाग्ने गरेको छ ।
यद्यपि कांग्रेसले भने उक्त कुराको खण्डन गरिरहेको छ । अदालतमा बहस भइरहेको विषयमा आन्दोलन गर्न उचित नभएको कांग्रेसका शीर्ष नेताहरुले बताउँदै आएका छन् ।
बिहीबार ६ फाल्गुन, २०७७