नेकपा (प्रचण्ड–माधव) समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने 


नेकपा (प्रचण्ड–माधव) समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने 

Sambodhi Television


माघ २०, काठमाडौं । नेकपाको केपी ओली र प्रचण्ड–माधव समूहबीच गत पुस ५ गतेबाट विभाजन भएपनि अहिलेसम्म निर्वाचन आयोगमा कुन नेकपा आधिकारिक भन्ने अन्यौलता कायमै रहेको बेला नेकपा प्रचण्ड–माधव समूहले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा जाने निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि विभाजित नेकपाको ओली र प्रचण्ड–माधव दुवै समूहले आफू नै आधिकारिक नेकपा भएको दावी गर्दै आएका छन् । दुवै समूहले पुस ७ गतेपछि अलगअलग भेला र बैठक गरेर त्यसको निर्णय अद्यावधिक गर्नका लागि निर्वाचन आयोगलाई पत्राचार गरेपनि आयोगले भने दुवै समूहको नयाँ निर्णयलाई अद्यावधिक गरेको छैन । आयोगले उल्टै नेकपा विभाजन नभएको, विवाद सिर्जना भएपछि गरिएका दुवै समूहका निर्णयलाई अद्यावधिक गर्न अस्वीकार गरेको छ । त्यसले पनि कुन नेकपा आधिकारिक हो भन्ने भ्रम सिर्जना भइरहेको छ । 

यता तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकीकरण भएर नेकपा बनेपछि हरेक निर्णय सहमतिमा गर्ने र एकता महाधिवेशनसम्म पार्टीलाई एकढिक्का बनाएर लैजाने सहमति भएको थियो । तर एकता महाधिवेशन अगावै नेकपामा विभाजन आएपछि कुन समूह वैधानिक भन्ने अन्यौल कायमै रहेको बेला प्रचण्ड–माधव समूह बहुमत केन्द्रीय समितिसहित निर्वाचन आयोगमा आफू नै आधिकारिक नेकपा दावी गर्दै निर्वाचन आयोगमा जाने तयारी गरेको हो । सो समूहको सोमबार बसेको केन्द्रीय समिति बैठकले आधिकारिकताका लागि निर्वाचन आयोगमा जाने सर्वसम्मत निर्णय गरेको हो । 
 
 

मंगलवार २० माघ, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट