आजबाट राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुने


आजबाट राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरु हुने

Sambodhi Television


पुस १७, काठमाडौं । प्रतिनिधिसभा विघटन भएको वर्तमान अवस्थामा संघीय संसदको माथिल्लो सदन राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रियसभाको बैठक आज अपरान्ह ४ बजेदेखि सुरू हुने भएको छ । आजको बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस हुने कार्यसूची तय गरिएको छ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश पेस गर्नुहुने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

त्यसअघि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्र पढेर सुनाउनुहुने कार्यसूची छ । राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् पुर्नगठनसम्बन्धी पत्र पढ्ने कार्यसूची पनि तय भएको सचिवालयले जनाएको छ  । 

अध्यक्ष तिमल्सिनाबाट जारी भएको राष्ट्रियसभाका समिति गठनसम्बन्धी आदेश, २०७७ सभाबाट अनुमोदनका लागि पेस हुने कार्यसूची छ ।  गृहमन्त्री रामबहादुर थापाले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन, नेपाल प्रहरी र प्रदेश प्रहरी पहिलो संशोधन तथा सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश बैठकमा पेश गर्ने सम्भावित कार्यसूची पनि तय छ ।

त्यसैगरी बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले औषधि सम्बन्धी तेस्रो संशोधन अध्यादेश पेस गर्ने कार्यसूची तयार भएको छ । भने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्य विधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ पेस गर्ने कार्यसूची रहेको बताइएको छ ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि विभाजित भएको नेकपामा राष्ट्रिय सभामा ४७ जना सांसद रहेका छन् । पार्टी विभाजनको असर राष्ट्रियसभामा समेत परेको छ । नेकपाको दुई तिहाई बहुमत रहेको राष्ट्रियसभामा पार्टी विभाजनसँगै प्रधानमन्त्री ओली अल्पमतमा परेको बताइएको छ ।

शुक्रबार १७ पुष, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट