नेकपा नेता एवं पूर्व सांसद कमान सिं लामाको निधन


नेकपा नेता एवं पूर्व सांसद कमान सिं लामाको निधन

Sambodhi Television


मंसिर २५, काठमाडौं । नेपाल कम्यिनस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व सांसद कमानसिंह लामाको निधन भएको छ । कोरोना भाइरस संक्रमणका कारण त्रिवि शिक्षण अस्पतालमा उपचार गरिरहेका लामाको बिहिबार निधन भएको हो । ६९ वर्षीय लामा दक्षिण कोरियाका लागि नेपाली राजदूत समेत भएका थिए । 

२०३३ सालमा निर्मल लामा नेतृत्वको नेकपा (चौम) बाट कम्युनिष्ट पार्टीको सदस्य बनेका लामा २०३५ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा गठित अखिल नेपाल युवक संघको केन्द्रीय संस्थापक सदस्य बनेका थिए ।

लामा २०४८ सालको संसदीय निर्वाचनमा डा.बाबुराम भट्टराई संयोजक रहेको संयुक्त जनमोर्चा नेपालका तर्फबाट काभ्रे क्षेत्र नं.१ बाट निर्वाचित भएका थिए । त्यतिबेला संसदमा संयुक्त जनमोर्चा नेपाल तेस्रो शक्तिका रुपमा उपस्थित रहेको थियो । तत्कालिन संयुक्त जनमोर्चा नेपालले ‘संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु’ बेच्ने थलो हो भन्दै संसदीय व्यवस्थाको भण्डाफोर गर्न भन्दै संसद उपयोगको नीति लिएको थियो । सोही नीति अनुसार तत्कालिन सजमोले संसदमा ९ सिटमा विजय हासिल गरेको थियो । 

लामासँगै लिलामणि पोखरेल, अमिक शेरचन, पूर्व सभामुख कृष्णबहादुर महरा, बर्मन बुढा, खड्गबहादुर बुढा कमल चौलागाई, , विष्णुवहादुर तामाङ, छक्कबहादुर लामाले चुनाव जितेका थिए । 

नेकपाको आदिवासी जनजाति संगठन आदिवासी जनजाति महासंघ, नेपालका सहइन्चार्ज समेत रहेका स्वर्गीय लामाका दुई श्रीमती, १ छोरा र ४ छोरीहरु छन् ।

 

बिहीबार २५ मंसिर, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट