आजको नेकपाको सचिवालय बैठक बालुवाटारमै बस्ने


आजको नेकपाको सचिवालय बैठक बालुवाटारमै बस्ने

Sambodhi Television


मंसिर १६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमै बस्ने भएको छ । मंसिर १३ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले आजको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्नेगरी निर्णय गरेको थियो । 

यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको बैठक पार्टीभित्रको अन्तरसंघर्ष चरमचुलीमा पुगिरहेको बेला पार्टी कार्यालयमै बस्नुपर्ने आवाज उठ्दै आएको थियो । सोही अनुसार पार्टी कार्यालयमै बस्ने तय भएको थियो । तर पार्टीभित्र देखिएको तीव्र अन्तरसंघर्षका कारण बैठकस्थल फेरि बालुवाटारमै सारिएको हो । 

पार्टी कार्यालयमा बैठक बस्दा नेता तथा कार्यकर्ताहरुको ठूलो संख्या आवतजावत हुनसक्ने र पार्टीभित्रको अन्तरसंघर्षका कारण उत्तेजना फैलिन सक्ने अवस्थालाई ध्यानमा राख्दै आजको बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमै गर्न लागिएको हो ।

आज दिउँसो १ बजे बस्ने सचिवालय बैठकमा मंसिर १३ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको प्रतिवेदनमाथि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यक्रम रहेको बताइएको छ ।

बैठकमा यसअघि नेकपा अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पेश गरेका डकुमेन्टहरुमाथि छलफल हुने तयारी समेत गरिएको छ । कार्तिक २८ गते प्रचण्डले पेश गरेको डकुमेन्टबारे अध्यक्ष ओलीले मंसिर ३ गते नै जवाफ दिइसकेको र उक्त प्रतिवेदनको सट्टा ओलीले मंसिर १३ गते नै अर्को प्रतिवेदन पेश गरेकाले आजको बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पनि ओलीको प्रतिवेदनबारे धारणा राख्ने कार्यक्रम तय भएको हो ।

प्रचण्डले राख्ने धारणा लिखित वा मौखिक के हुने भन्ने अहिलेसम्म टुंगो नलागेको प्रचण्ड निकट नेकपा स्थायी कमिटी सदस्य मातृका यादवले बताएका छन् । 
 

मंगलवार १६ मंसिर, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट