क्रियाशील सदस्यताबारे बुढानिलकण्ठमा देउवा–पौडेल भनाभन, देउवा भन्छन : पास–पास, पौडेलको प्रश्न कति दिन भागेर हिँड्ने ?


क्रियाशील सदस्यताबारे बुढानिलकण्ठमा देउवा–पौडेल भनाभन, देउवा भन्छन : पास–पास, पौडेलको प्रश्न कति दिन भागेर हिँड्ने ?

Sambodhi Television


कार्तिक २९, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन ढिलोमा गत साउनमै सम्पन्न गर्नुपर्ने हो । त्यतिबेला पनि महाधिवेशन गर्न सक्ने अवस्थामा कांग्रेस पुगेन । भदौमा महाधिवेशनको मिति नै घोषणा गरेको कांग्रेसले त्यो मिति पनि गुजारेर मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने तयारीमा कांग्रेस लागेको छ । त्यही तयारीका निम्ति भन्दै आइतबार केन्द्रीय समिति बैठक बोलाइएको हो । 

१४ औं महाधिवेनका लागि नेपाली कांग्रेसको कतिपय जिल्लाहरुमा क्रियाशील सदस्यता विवाद अझै टुंगोमा पुग्न सकिरहेको छैन । क्रियाशील सदस्यता विवादकै कारण रौतहटका नेता कार्यकर्ता ११६ दिनदेखि सानेपामा अनसन जारी राखेका छन् । सोही अनसनकै कारण पार्टी कार्यालयमा महाधिवेशन तयारीका केन्द्रीय कमिटी बैठक समेत पार्टी कार्यालयमा बस्न नसक्ने भएको छ । आइतबार तय भएको पार्टी केन्द्रीय समितिको बैठक पार्टी कार्यालयको साटो सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्यो ।

केन्द्रीय समिति बैठक पार्टी सभापति देउवाको निवास बूढानीलकण्ठमा दिउँसो एक बजे बस्ने भनिएको थियो । तर एक बजेको सट्टा बैठक साँझ पाँच बजेपछि मात्रै सुरु भयो । बैठक अगाडि कांग्रेसका प्रमुख नेताहरुबीच सहमति एजेन्डामा जुटेको थियो । त्यसपछि मात्रै सुरु भएको बैठकमा महामन्त्री पुर्णबहादुर खड्काले महाधिवेशन मूल आयोजक समिति गठन, प्रदेश अधिवेशनका लागि सातै प्रदेश संयोजक तोक्ने लगायतका एजेण्डा पेश गर्नुभयो । 
बैठकमा कतिपय कांग्रेसका केन्द्रीय सदस्यहरुले न्यायपालिकामा देखिएको विवाद, सत्ता गठबन्धनका शीर्ष नेताहरु सम्मिलित समन्वय समितिको औचित्यदेखि चुनावी तालेमलबारे कति सम्भव छ वा छैन भन्ने बारेमा जिज्ञासा राखेका थिए । 

बैठकमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लामो समयदेखि विवादमा रहेको पार्टीको क्रियाशील सदस्यताका बारेमा सभापति शेरबहादुर देउवासमक्ष प्रश्न उठाउनु भएको छ । बरिष्ठ नेता पौडेलले पार्टी सभापति देउवाकै गृहजिल्लाको विवाद र पार्टी कार्यालय सानेपामा जारी अनसनप्रति वेवास्ता गरेको भन्दै त्यसको  समाधान खोज्नुपर्नेमा सभापति देउवाको ध्यानाकर्षण गराउनु भयो । तीन घण्टासम्म चलेको बैठकमा सभापति देउवाले बरिष्ठ नेता पौडेल लगायतले उठाएका सवालको कुनै उत्तर नै नदिई बैठकका एजेण्डा पारित गर्न आग्रह गर्दै भने, ‘अब पास–पास ।’ भन्नुभयो । तर वरिष्ठ नेता पौडेलले पार्टी केन्द्रीय कार्यालयमा जारी अनसन र डडेल्धुराको पार्टी सदस्यता विवादबारे समाधान ननिकाली हतारमा एजेन्डा पास नहुने भन्दै प्रतिवाद गर्नुभएको थियो । पौडेलले केन्द्रीय कार्यालयमा रौतहटका केही नेता–कार्यकर्ताले जारी राखेको अनसन र डडेल्धुरा जिल्लाको विवाद समाधान गर्नुपर्नेमा जोड दिए । ‘रौतहटका कार्यकर्ता ११६ दिनदेखि सानेपामा अनसन छन् । हामी भागेर बूढानीलकण्ठमा बैठक बसेका छौँ । तपाईकै जिल्ला डडेल्धुराका मान्छे सानेपामा धर्नामा बस्ने भन्दैछन् । मैले भनेर हुने होइन, तपाईंको जिल्लाको कुरा हो,’ पौडेलले भन्नुभयो– ‘ हामी कति दिन भागेर हिँड्ने ? यी समस्या कसरी टुंगो लगाउने ? समस्या समधान नगरी कसरी प्रस्ताव पास हुन्छ ? खाली पास–पास गर्ने भनेर मात्रै हुन्छ र भन्दै पौडेलले देउवाको एजेन्डा पास गरौ भन्ने प्रस्तावका डटेर विरोध गर्नुभएको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो । ती नेताका अनुसार पौडेलले क्रियाशील सदस्यता विवाद थाँती राखेर बैठक टुंग्याउन नहुनेमा जोड दिनुभएको थियो । 

यता पौडेलको कुरा सकिने वित्तिकै  पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला बोल्न थाल्नुभएको र सिटौलाले महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको अवस्थामा क्रियाशील सदस्यता विवाद झिक्नु उचित नहुने धारणा राख्नुभएको थियो । उहाँले ‘तोकिएको समयममै महाधिवेशन गर्ने हो भने थप विवाद गर्नुको कुनै तुक नरहेको समेत भन्दै हामीसँग समय असाध्यै कम भइसकेको बताउनु भयो उहाँले छिटोभन्दा छिटो महाधिवेशन गराउने एजेण्डामा सबै केन्द्रीत हुन आग्रह गर्नुभयो । एकातिर पौडेलले क्रियाशिल सदस्यता विवाद झिक्ने र देउवालाई अप्ठेरोमा पार्ने कोशिस गरिरहँदा तेस्रो धारका नेताका रुपमा आफूलाई उभ्याएका सिटौलाले भने देउवालाई नै बल पुग्नेगरी धारणा राखेपछि देउवा पौडेल पक्षलाई पेलेरै अगाडि बढ्ने संकेत पौडेलको कुनै पनि कुरा सम्बोधन नगरी बैठक सम्पन्न गरेपछि प्रष्ट भएको छ ।  

आइतबार बसेको बैठकले गरेका निर्णयहरु

कांग्रेसले २४–२६ सम्म काठमाडौंमा हुने १४ औं महाधिवेशनका लागि सभापति शेरबहादुर देउवाको नेतृत्वमा मूल तयारी समिति गठन गरेको छ । समितिमा पार्टीका केन्द्रीय सदस्य, सांसद, प्रदेश संसदीय दलका नेता लगायत सदस्य रहनेछन् ।

त्यसैगरी प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ । प्रदेश एकको संयोजकमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रदेश दुईको संयोजकमा रमेश रिजाल, बाग्मती प्रदेशको संयोजकमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशको संयोजकको जिम्मेवारी दिलेन्द्रप्रसाद बडुलाई दिइएको छ । लुम्बिनीका संयोजक खाण गृहमन्त्री र सुदूरपश्चिमका संयोजक बडू कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेका छन् ।

त्यसैगरी महाधिवेशन सम्पन्न गर्नका लागि अर्थ संकलनको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधि मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएको छ भने भोजन तथा आवासका लागि सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा समिति गठन गरेको छ । सहमहामन्त्री डा. प्रकाशशरण महतलाई विदेशी पाहुना स्वागतको जिम्मेवारी दिएको छ भने मञ्च व्यवस्थापनका लागि काठमाडौं जिल्ला सभापतिको संयोजकत्वमा भक्तपुर र ललितपुरका सभापति सदस्य रहने गरी समिति बनाइएको छ । प्रचार प्रसारको जिम्मेवारी प्रवक्ता विश्वप्रकाश शर्मालाई दिइएको छ ।

स्वास्थ्य क्षेत्रको जिम्मेवारी मोहनबहादुर बस्नेतलाई दिइएको छ । उद्घाटन सत्रका लागि सांस्कृतिक समितिको जिम्मेवारी केन्द्रीय सदस्य सीता गुरूङलाई दिइएको  छ । 

कांग्रेसको महाधिवेशन उद्घाटन मंसिर २४ गते हुने भएपनि निर्वाचन प्रक्रिया भने मंसिर २१ गते सुरु हुने छ । केन्द्रीय समितिले २१ गते कार्यसमितिका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने निर्णय गरेको छ । मंसिर २५ गते मतदान हुने जनाइएको छ ।

एमालेको जस्तै कांग्रेसको पनि १४ औं महाधिवेशनले नेतृत्व चयन मात्रै गर्नेछ । यसअघि नेकपा एमालेले पार्टीको दसौं महाधिवेशन अगाडि विधान अधिवेशन सम्पन्न गरिसकेको छ भने कांग्रेसले पार्टीको नीति तथा कार्यक्रम तय गर्न नयाँ कार्यसमितिले विधान अधिवेशन बोलाउने निर्णय गरेको छ । 
 

सोमबार २९ कार्तिक, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट