छठ पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त


छठ पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त

Sambodhi Television


कार्तिक २४, काठमाडौं । तराईबासी नेपालीहरुले धुमधामका साथ मनाउने गरेको छठ पर्वको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन छठ पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना व्यक्त गर्नुभएको छ । 

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिनुभएको शुभकामना सन्देशमा छठ पर्वले आपसी एकता थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ । सो अवसरमा उहाँहरुले कोरोना संक्रमणको जोखिम कायमै रहेको अवस्थालाई ख्याल गर्दै स्वास्थ्य मापदण्ड कायम गर्दै पर्व मनाउन आग्रह समेत गर्नुभएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको शुभकामना सन्देशमा छठ पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्र गरिएको छ । 

त्यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा मनाइने छठ पर्व संसारकै मौलिक सांस्कृतिक पर्व भएको उल्लेख गर्नुभएको छ । उहाँले छठ पर्वले सम्पूर्ण नेपालीमा सदभाव र एकतालाई थप सुदृढ बनाउने विश्वास समेत व्यक्त गर्नुभएको छ । 

छठ पर्वकै अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना सन्देश दिनुभएको छ । उहाँले छठ पर्वले सम्पूर्ण नेपालीहरुमा पारस्परिक सद्भाव र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ । 

यसैगरी छठ पर्वको अवसर पारेर नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीका प्रमुख नेताहरुले समेत शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उनीहरुले नेपाल बहुजातीय, भाषिक, संस्कृति एवं बहुधार्मिक विविधताले भरिपूर्ण सुन्दर मुलुक भएको बताउँदै सबै नेपालीहरुले एक आपसमा मिलेर आफ्नो रीतिरिवाज र संस्कृतिको जगेर्ना गर्न सकेकैले नेपाल अविभाज्य र एकतावद्ध राष्ट्र बन्न सफल भएको बताएका छन् । 

विगतमा विशेष गरी तराई क्षेत्रमा मनाइने छठ पर्व हाल नेपालको एक विशिष्ट पहिचानसहितको साझा पर्वको रुपमा नेपालभर विस्तार भएको छ ।
सूर्यको उपासना गरी मनाइने छठ पर्वको अवसरमा सरकारले मुलुकभर सार्वजनिक विदा समेत दिएको छ । आज अस्ताउँदो सूर्यलाई पुजा गर्ने र भोलि बिहान उदाउँदो सूर्यलाई पूजा आरधना गरेपछि छठ पर्व सम्पन्न हुनेछ ।
 

बुधबार २४ कार्तिक, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट