कार्तिक १५ विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको छ । मुख्यमन्त्री आचार्यले आजै राजीनामा दिएसँगै प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री भीम आचार्यको राजीनामा तत्काल स्वीकृत गर्नुभएको छ । आचार्यको राजीनामा स्वीकृत गर्दै प्रदेशप्रमुख अधिकारीले नयाँ सरकार गठनको आब्हान समेत गर्नुभएको छ ।
प्रदेश प्रमुख अधिकारीले मंगलबार १ बजेसम्मका लागि मुख्यमन्त्रीमा दावी गर्न आब्हान गर्नुभएको हो । प्रदेश प्रमुख प्यासीले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मंगलबार दिउँसो १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरुलाई आह्वान गर्नुभएको हो ।
मुख्यमन्त्रीको आह्वानपछि दलहरूले नयाँ सरकारका लागि दाबी पेस गर्ने तयारी गरेका छन् । गठबन्धनमा रहेका पाँच राजनीतिक दलका नेताहरुले आजै मुख्यमन्त्री पदमा दावी गर्ने तयारी गरेका छन् । नयाँ सरकार गठन गर्नका लागि नेकपा एकीकृत समाजवादीका प्रदेश १ का प्रदेश सदस्य राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउनेगरी गठबन्धनका दलहरुबीच सहमति भएको छ । राई हालै नेकपा एमालेबाट विभाजित नेकपा एसमा सनाखत गर्नुभएको हो । राईको पक्षमा प्रदेश १ का नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एसका गरी ५० सांसदले समर्थन गर्ने भएका छन् ।
सोमबार १५ कार्तिक, २०७८