नेकपा एकीकृत समाजवादीको अध्यक्षमा रमेशकुमार बस्नेत चयन, पार्टी कार्यालय समेत उदघाटन


नेकपा एकीकृत समाजवादीको अध्यक्षमा रमेशकुमार  बस्नेत चयन, पार्टी कार्यालय समेत उदघाटन

Sambodhi Television


असोज १०, मन्थली । नेकपा (एकीकृत समाजवादी) रामेछापको अध्यक्षमा रमेश बस्नेत चयन हुनुभएको छ । नेकपा एस रामेछापको असोज ९ गते मन्थलीमा आयोजित भेलामार्फत बस्नेत अध्यक्ष चयन हुनुभएको हो । बस्नेत मन्थली नगरपालिकाका मेयर समेत हुनुहुन्छ ।

जिल्ला पार्टी कार्यालयसमेत उद्घाटन गरिएको भेलामा प्रमुख अतिथि नेकपा एसका केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने तथा विशेष अतिथि नेकपा एसका स्थायी कमिटी सदस्य सावित्री भुसाल हुनुहुन्थ्यो । त्यसैगरी अतिथिहरुमा पोलिटव्युरो सदस्य देवशंकर पौडेल, केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) हुनुहुन्थ्यो । कार्यक्रम लालसिंह घिसिङको अध्यक्षता र गणेशबाबु खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।  

भेलाले रमेशकुमार बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षहरुमा धन योञ्जन र रामबहादुर बुढाथोकी चयन हुनुभएको छ भने युवा नेता लालसिं घिसिङ सचिवमा चयन हुनुभएको छ । भेलाले ८ जनालाई उपसचिवमा चयन गरेको छ । उपसचिव हुनेहरुमा गणेशबाबु खड्का, तीर्थलाल श्रेष्ठ, दीपक बुढाथोकी, संगम खड्का, विनोद श्रेष्ठ, प्रकाश कार्की, किरण मोक्तान र किरण कार्की रहनुभएको छ ।

भेलामा रामेछापका ६४ वटै वडाबाट उपस्थिति रहेको सचिव लालसिंह घिसिङले बताउनु भयो । उहाँले पार्टीलाई नयाँ ढंगबाट जनताको माझमा स्थापित गर्ने उद्देश्य अनुरुप कार्यक्रममा जनता, कार्यकर्ता र नेताहरु सबैको भूमिका समान रहनेगरी माला र खादाजस्ता आर्थिक व्यवभार हुने कुराहरुको प्रयोग समेत नगरिएको बताउनु भयो । घिसिङले कार्यक्रमको अध्यक्षता गर्ने व्यक्ति मात्रै मञ्चमा बसेर नेकपा एसले जनता, कार्यकर्ता र नेता समान छन् भन्ने सन्देश दिएको र नेकपा एसले अब यही अनुसार पार्टीलाई जनताको बीचमा लैजाने र पार्टी र जनताको सम्बन्ध माछा र पानी जस्तै हुनेगरी आफूहरु अगाडि बढ्ने बताउनु भयो । 

यता भेलामार्फत निर्वाचित अध्यक्ष बस्नेतले समाजवादी समाज निर्माण गर्ने नेकपा एसको योजना अनुसार आफूहरु अगाडि बढ्ने बताउनु भयो । उहाँले पार्टीको बैठक बसेर आगामी कार्यक्रम तय गर्ने भन्दै समाजवादी समाज निर्माणमा नेकपा एसले नेपालको इतिहासमै कोसेढुंगा सावित गर्ने बताउनु भयो । यसअघिका पार्टीहरुले जनताको कुरा गर्ने तर जनताका सरोकारका कुनै पनि समस्या समाधान नगर्ने परिपाटी रहेको भन्दै नेकपा एसले जनसरोकारका विषय उठाउने र पार्टी सधैभरि जनतासँगै रहने बताउनु भयो । उहाँले रामेछापमा मात्रै होइन नेकपा एसलाई मुलुककै जनताको प्रमुख र लोकप्रिय पार्टी बनाउने समेत बताउनु भयो ।


नेकपा एमालेबाट विद्रोह गर्दै माधव कुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा एसले एक महिना अगाडि गत भदौ ९ गते निर्वाचन आयोगमार्फत राष्ट्रिय दलको रुपमा मान्यता पाएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले भदौ १ गते पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पु¥याएर दल विभाजन गर्न पाउने अध्यादेश ल्याएसँगै एमालेभित्र असन्तुष्ट नेपाल पक्षले भदौ २ गते नै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको थियो । सोही निवेदन बमोजिम भदौ. ९ गते आयोगले नेकपा एसलाई राष्ट्रिय राजनीतिक दलको मान्यता दिएको हो । 

केन्द्रमा राष्ट्रिय दलको मान्यता पाएपछि प्रदेश र स्थानीय तहमा समेत एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले २१ दिनभित्र नेकपा एस रोजेमा बैधानिकता पाउने आयोगको निर्णय अनुसार प्रदेश र स्थानीय तहका धेरै जनप्रतिनिधिहरुले नेकपा एस रोजेका थिए । सोही क्रममा रामेछाप जिल्लाको मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले पनि नेकपा एस रोज्नुभएको थियो । बस्नेत यसअघि पनि जिल्ला विकास समितिको उपसभापति, सभापति निर्वाचित हुनुभएको थियो । 

बस्नेत राजनीतिक रुपमा पनि रामेछापका समकालीन नेतृत्वहरुमा पहिलो पंक्तिमै पर्नुहुन्छ । विचारमा स्पष्टता, व्यवहारमा लचकता राख्नुहुने बस्नेत निजी स्वार्थभन्दा माथि उठेको र जीवनपर्यन्त जनताकै बीचमा बसेर काम गर्ने नेतृत्व हुनुहुन्छ । ३० वर्षअघि पनि रामेछापमा राष्ट्रिय पार्टीको मुख्य नेतृत्वमा रहनुभएका बस्नेत फेरि पनि राष्ट्रिय पार्टीको मान्यता पाएको नेकपा एसको मुख्य नेतृत्व चयन हुनुभएको हो । 

आईतवार १० आश्विन, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट