केपी ओली फेरि प्रधानमन्त्री हुन एमालेको विधानमै अवरोध !


केपी ओली फेरि प्रधानमन्त्री हुन एमालेको विधानमै अवरोध !

Sambodhi Television


असोज ४, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा प्रस्तुत भएको विधान संशोधन प्रस्ताव असोज १६ र १७ गते हुने विधान महाधिवेशनबाट पारित भए पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्ने बाटोमा अवरोध आउने भएको छ । एमालेको संशोधित विधानमा एकै व्यक्तिले दुई पटकभन्दा बढी सरकारको नेतृत्व गर्न नपाइने प्रावधान राखिएसँगै केपी ओलीलाई फेरि प्रधानमन्त्री हुन विधानमै अवरोध खडा भएको हो ।

एमालेले पार्टी अध्यक्ष पनि दुई पटकभन्दा बढी समय हुन नपाइने व्यवस्था गरेको छ । त्यसैगरी पार्टीको कुनै पदमा दुई पटकभन्दा बढी रहन नपाइने व्यवस्था समेत एमालेको विधानले गरेको छ । त्यसैगरी ७० वर्ष उमेर पार गरेका कुनै पनि व्यक्तिहरुले पार्टीको केन्द्रीय समितिमा समेत उम्मेदवारी दिन नपाइने व्यवस्था छ । यद्यपि ओली एमालेको एक पटक मात्रै अध्यक्ष भएको र ७० वर्षे उमेर हद राख्दा पनि पार्टी अध्यक्ष भने एक पटक हुन पाउने छन् । एमालेका कुनै पनि तहमा उम्मेदवार हुन ७० नपुगेको हुनुपर्नेछ । ओली अहिले ६९ वर्ष मात्रै हुनुहुन्छ । 

नेकपा एमालेको आइतबार शुरु भएको स्थायी कमिटीमा पेश गरिएको विधान संशोधन प्रस्तावमा सरकार प्रमुख दुई पटक भन्दा बढी हुन नपाउने व्यवस्था छ । ‘पार्टीका पदहरुमा जस्तै सरकार प्रमुख पनि दुई पटकभन्दा बढी दोहोरिन नपाउने व्यवस्था छ’, सोही व्यवस्था अनुरुप आएको एमालेको विधान संशोधन प्रस्ताव असोज १६ र १७ गते हुने विधान महाधिवेशनबाट पारित भयो भने ओलीलाई फेरि प्रधानमन्त्री अवरोध खडा हुनेछ । 

नेकपा एमालेका अध्यक्ष ओली २०७२ असोज २५ गते पहिलो पटक प्रधानमन्त्री हुनुभएको थियो । त्यसैगरी २०७४ को आम चुनावपछि दोस्रो पटक प्रधानमन्त्री बन्नुभएका ओलीले २०७८ वैशाख २७ गते विश्वासको मत प्राप्त नगरे पनि संविधानको धारा ७६(३) अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा २०७८ वैशाख ३० गते तेस्रो पटक  प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । तर अल्पमतको सरकारका तर्फबाट पनि विश्वासको मत नलिई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष २०७८ जेठ ६ गते संसद विघटनको सिफारिस गर्नुभएको र ओलीले गरेको विघटनलाई सर्वोच्च अदालतले २०७८ असार २८ गते बदर गर्दै विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै ओली प्रधानमन्त्रीबाट पदच्युत हुनुभएको थियो । 

यता एमालेको संशोधित विधानमा पार्टीको कार्यकारी र मुलुकको कार्यकारी दुई कार्यकालभन्दा बढी हुन नहुने विधानमा व्यवस्था गरिएपनि त्यो व्यवस्था पारित हुन्छ कि हुँदैन भन्ने कुरा असोज १६ र १७ गते हुने एमालेको विधान महाधिवेशनले निर्णय गर्नेछ । 

यता नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा महामन्त्रीको उम्मेदवार घोषणा गर्नुभएका कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले पनि मुलुकको प्रधानमन्त्री दुई कार्यकालभन्दा बढी हुन नपाउने व्यवस्था गर्नुपर्ने भन्दै आफ्नो अवधारणापत्र पेश गर्नुभएको छ । आफ्नै गृहजिल्ला झापामा महामन्त्रीको आफ्नो राजनीतिक अवधारणा प्रस्तुत गर्दै शर्माले कुनै पनि व्यक्तिले दुई पटकभन्दा बढी प्रधानमन्त्रीमा, तीन पटकभन्दा बढी मन्त्री र चार पटकभन्दा बढी सांसद पदको सपथ लिन नपाईने व्यवस्था गर्न सके पार्टीमा उमेरहद कहिल्यै लागू गर्नु नपर्ने र स्वतः युवाहरुले मुलुकको नेतृत्व गर्नसक्ने अवस्था आउने बताउनु भएको छ । 
 

सोमबार ४ आश्विन, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट