एमाले सांसदहरूद्वारा लगातार संसद् बैठक अबरुद्ध, सभामुखबाट सम्वादको थालनी


एमाले सांसदहरूद्वारा लगातार संसद् बैठक अबरुद्ध, सभामुखबाट सम्वादको थालनी

Sambodhi Television


काठमाडौं । भदौ २३ गतेबाट प्रतिनिधिसभाको वर्षे अधिवेशन सुरु भयो । गत  असार २९ गते सर्वोच्च अदालतको परमादेशबाट शेरबहादुर देउवामा प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक संसद बैठक सुरु भएको हो । तर बैठक सुरु भएलगत्तै एमाले सांसदहरूको अवरोधका कारण भदौ २३ को बैठक स्थगित भयो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक भदौ २५ शुक्रबारसम्मका लागि स्थगित गर्ने घोषणा गर्नुभयो । 


भदौ २५ गते पनि बैठक सुरु हुनासाथ एमाले सांसदहरु नारावाजीमा उत्रिए । एमाले सांसदहरुको अवरोधकै बीच अर्थमन्त्री जनार्दन शर्माले बजेट सम्बन्धी प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुभयो । सो दिनको संसद बैठकमा विपक्षी दलको नाराबाजीकै बीच प्रतिस्थापन विधेयक प्रस्तुत भएको थियो । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले आइतबारका लागि प्रतिनिधिसभाको बैठक आब्हान गर्नुभएको थियो । तर आइतबारको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको लगातारको नारावाजीका कारण प्रतिनिधिसभा चल्न सकेन । बैठक पुन भदौ २९ गते बस्नेगरी स्थगित भयो ।  

 नेकपा एमालेले गत भदौ १ गते माधव नेपालसहित १४ सांसदलाई कारवाही गरेको कुरालाई सभामुख अग्निप्रसाद सापकोटाले मान्यता नदिएर एमाले फुटाउन सहयोगी भूमिका खेलेको भन्दै एमालेले संसदमा विरोध प्रदर्शन गरिरहेको छ । आइतबारसम्म एमालेले सात पटक संसद अवरुद्ध गरिसकेको छ । उनीहरूले संसदीय मर्यादा कायम गर, पदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर लगायतका नारा लगाएर संसद अवरोध गरेका थिए । 
विपक्षी दलको लगातारको अवरोधपछि सभामुख सापकोटाले एमालेलाई संवादमार्फत समस्या समाधान गर्न आह्वान गर्नुभएको छ । सभामुखको सोही आब्हान अनुसार मंगलबारसम्मका लागि संसद बैठक स्थगित भएको छ । यो बीचमा सम्वाद हुन्छ कि हुँदैन वा भएपनि एमालेले अगाडि सारेको माग अनुसार सभामुखले कदम चाल्न सम्भव छ कि छैन त्यस अनुसार आगामी दिनमा संसद बैठक कसरी अगाडि बढ्छ भन्ने टुंगो लाग्न सक्छ ।

यता सभामुखले तत्काल कारवाहीको सूचना प्रकाशित नगर्दा एमालेले कारवाही गरेको माधवकुमार नेपालसहित १४ सांसदहरूसमेत प्रतिनिधिसभाका २२ जना सांसदले अलग्गै दल बनाएका छन् । एमालेले निर्वाचन आयोगलाई पनि सो कुराको जानकारी गराएको थियो । तर निर्वाचन आयोगले पनि हतारहतार एमाले विभाजन गराएर नयाँ दल दर्ता गरिदिएको र सो दललाई मान्यता दिएपछि सभामुख र निर्वाचन आयोगका विरुद्ध मुद्दा दर्ता गरेको छ । सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै आज (भदौ २८ गते) निर्वाचन आयोगलाई सर्वोच्च अदालतमा उपस्थित हुन निर्देशन दिइसकेको छ । त्यस अर्थमा अदालतले सो मुद्दालाई कुन रूपमा हेर्छ त्यस अनुसार नेपालको राजनीति अगाडि बढ्न सक्छ । अदालतले कहिलेकाँही अपेक्षा विपरीत फैसला गर्दै आएको छ । गत फागुन २३ मा एमाले र माओवादीबीच एकीकरण भई बनेको नेकपालाई मान्यता नदिएर एमाले माओवादी व्युँताइदिएको थियो भने गत असार २८ गते शेरबहादुर देउवालाई प्रधानमन्त्री नै बनाउन परमादेश दिएको थियो । अदालतले यस्तै अनौठो निर्णय ग¥यो र कथंकदाचित माधव नेपाल नेतृत्वको पार्टीलाई मान्यता दिएन भने नेपालको राजनीतिक घटनाक्रम नयाँ विन्दूबाट अगाडि बढ्नेछ ।


यता सभामुख अग्निप्रसाद सापकोटाले प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरिरहेपछि त्यसको अन्त्यको लागि शीर्ष नेताहरूको बैठक बोलाउनु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध अन्त्य गर्ने विषयमा आज (सोमबार) शीर्ष नेताहरूको बैठक बोलाउनु भएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष नेतालाई सोमबार दिउँसो साढे २ बजे छलफलमा बोलाउनु भएको उहाँका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । 

सभामुख सापकोटाले एमालेले आइतबारको संसद बैठक समेत अवरुद्ध गरेपछि उहाँले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र नेकपा एमालेका सांसदहरूसँग संयुक्त छलफल गर्नुभएको थियो । उक्त छलफलका क्रममा एमालेले सभामुखबाट विश्वासको वातावरण नबनाएसम्म संसद् अवरोध कायमै राख्ने बताएका थिए । सो क्रममा एमाले सांसदहरूले आफ्नो पार्टीले कारवाही गरेका १४ जना सांसदहरूलाई कारवाही नगरेसम्म आफूहरूले कुनै पनि अवस्थामा संसद बैठक अवरोध गर्न नछाडने प्रमुख सचेतक विशाल भट्टराईले बताउनु भयो । उहाँले सभामुखले नै एमाले विभाजनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको दावी समेत गर्नुभयो । यद्यपि सभामुख सापकोटाले भने आफू विधि र प्रक्रियाभन्दा बाहिर नगएको स्पष्ट पार्नुभएको छ । 
 

सोमबार २८ भाद्र, २०७८



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट