कोरोना संक्रमण फैलने डरले होली नखेल्न निर्देशन


कोरोना संक्रमण फैलने डरले होली नखेल्न निर्देशन

Sambodhi Television


चैत १३, काठमाडौं । विश्वव्यापी रुपमा पुन फैलिन सुरु गरेको कोरोना संक्रमणको त्रासका कारण होली लगायत जमघट हुने कुनै पनि कार्यक्रम आयोजना नगर्न सरकारले निर्देशन दिएको छ । खासगरी रंगहरुको पर्व होलीको पूर्व सन्ध्यामा सरकारले होली नखेल्न समेत यस्तो निर्देशन दिएको हो ।

होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको सूचना समेत जारी गरेको छ । सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले बताउनु भएको छ । 
यसअघि नै गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ । ‘भीडभाड गरेमा प्रहरीले कारवाही गर्छ,’ सह–सचिव बुढा बताउनु भयो ।  उहाँले भन्नुभयो– ‘सार्वजनिक ठाउँमा कार्यक्रम आयोजना गरेमा आयोजकलाई पक्राउ गरेर कारवाही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छौँ ।’

गत वर्ष कोरोना भाइरस संक्रमणका कारण चैत ११ गतेबाट देशव्यापी लकडाउन सुरु भएको थियो । कोरोना भाइरसको पहिलो लहरका बेला विश्वव्यापी रुपमै अर्थतन्त्रमा प्रभाव पारेको थियो । केही समयदेखि कोरोना भाइरस विरुद्ध भ्याक्सिन लगाउन सुरु गरिएपछि विस्तारै उठदै आएको अर्थतन्त्रमा कोरोनाको दोस्रो लहरले पुन प्रभाव पार्ने भएको छ ।

शुक्रबार १३ चैत्र, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट