चैत ४, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आब्हानमा मंगलबार सर्वदलीय बैठक सम्पन्न भएको छ । संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई राष्ट्रपति भण्डारीले सर्वदलीय बैठकमा बोलाउनु भएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताउनु भएको छ ।
मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सर्वदलीय बैठकमा राष्ट्रपति भण्डारीले आपसी संवाद, सहकार्य र एकता नेपालको राजनीतिक सौन्दर्य भएको पनि उल्लेख गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ‘हाम्रो समाज शालीन, सभ्य र सहिष्णु रहिआएको उल्लेख गर्दै यहाँको नेतृत्वले सधैं उच्च राजनीतिक संस्कार कायम गर्दै आएको समेत बताउनु भएको छ । यो असल संस्कार निरन्तर कायम रहनुपर्छ’ राष्ट्रपति भण्डारीको भनाई उधृत गर्दै राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सर्वदलीय बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव लगायतका नेताहरु सहभागी रहेका थिए ।
त्यसैगरी सर्वदलीय बैठकमा गृहमन्त्री रामबहादुर थापा, एमाले महासचिव ईश्वर पोखरेल, नेता सुवास नेम्वाङ, विष्णु पौडेल, नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल, विमलेन्द्र निधि, डा. शशांक कोइराला, माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र देव गुरुङ, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र जनकराज शर्मा र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालसमेतको सहभागिता रहेको थियो ।
बैठकमा संसद राम्रोसँग चल्न नसकेको सन्दर्भलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि संसद विघटन गर्नसक्ने संकेत गर्नुभएको छ । प्रधानमन्त्रीको उक्त संकेतलाई नेमकिला लगायत साना दलले समर्थन गरेका छन् भने राष्ट्रपति भण्डारीले पनि निर्वाचनमा जाने कुरालाई सकारात्मक रुपमा लिनुपर्ने धारणा राखेको समाचारमा बताइएको छ ।
बुधबार ४ चैत्र, २०७७