जनता समाजवादी पार्टी मुसा दौडमा नरहेको डा.भट्टराईको भनाई


जनता समाजवादी पार्टी मुसा दौडमा नरहेको डा.भट्टराईको भनाई

Sambodhi Television


फागुन २८, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जनता समाजवादी पार्टी सरकार गठन वा विघटन गर्ने मुसा दौडमा नभएको स्पष्ट पारेका छन् । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेको र नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि संसदीय जोडघटाउमा जसपा निर्णायक रहेकै बेला डा. भट्टराईले आफ्नो पार्टी मुसा दौडमा नरहेको बताएका हुन । 

डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन सिफारिसलाई बदर गर्दै प्रतिनिधिसभा पुनस्र्थापना गरेको घटनालाई आत्मसमीक्षा गर्दै अग्रगामी निकास दिने बेला आएको र बरु ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर निकास खोल्नुपर्ने उल्लेख गरेका छन् । 

डा. भट्टराईले मुलुक अहिले संकटमा परिरहेको उल्लेख गर्दै यस्तो अवस्थामा राजनीतिक नेताहरुको भूमिका अपेक्षित हुनुपर्ने भन्दै अहिलेको अवस्थामा नेताहरुको भूमिका अपेक्षित नभएको डा. भट्टराईले बताएका छन् ।

भट्टराईले ‘देश यति गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है भन्ने प्रश्न गर्दै अदालतको कृपाले अलिअलि लाज बचेको बेला उही म्युजिकल चेयरको खेलमा लाग्नु सट्टा समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त ! भनेका छन् । 

यता बिहीबार जसपाका मुख्य नेताहरु प्रधानमन्त्री केपी ओलीसँग भेटन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । त्यहाँ डा. भट्टराईसहितका मुख्य पाँचैजना नेता जाने भनिएपनि डा. भट्टराई भने बालुवाटार गएका थिएनन् । जसपा र एमाले गठबन्धन बन्ने सम्भावना बढिरहेकै बेला जसपाका संघीय परिषद अध्यक्ष डा. भट्टराईले जसपा मुसा दौडमा नरहेको टिप्पणी गरेका हुन । 

शुक्रबार २८ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट