माओवादीले खोज्यो कांग्रेस र जसपाको साथ, नयाँ सरकार बनाउन प्रचण्डको दौडधूप


माओवादीले खोज्यो कांग्रेस र जसपाको साथ, नयाँ सरकार बनाउन प्रचण्डको दौडधूप

Sambodhi Television


फागुन २६, काठमाडौं । सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेललाई दिएर साविक एमाले र माओवादी केन्द्र व्युताइदिएपछि पहिलोपटक माओवादी केन्द्रको सचिवालय बैठक बसेको छ । मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको साथ खोज्ने निर्णय गरेको छ । 

सोमबार साबिक नेकपाको प्रचण्ड–माधव समूहको माधवकुमार नेपाल समूह एमालेमै फिर्ता हुने निर्णय गरेपछि माओवादी केन्द्र व्युताएका प्रचण्डले पार्टी सचिवालय बैठक आब्हान गरेका थिए । सोही बैठकमा नयाँ सरकार निर्माणका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग वार्ता गर्ने निर्णय भएको हो । यद्यपि नेकपा एमालेसँग पनि छलफल गर्ने कुरा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । तर सरकारलाई दिएको समर्थन भने फिर्ता लिने सवालमा कुनै पनि निर्णय नभएको प्रवक्ता श्रेष्ठले बताए । 

यता बैठक सकिएलगत्तै प्रचण्ड नयाँ सरकार गठन गर्नेबारे कांग्रेस र जसपाका नेताहरुलाई भेटन दौडधूपमा लागेका छन् । बैठक सकिएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटन प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेका थिए । प्रचण्डले देउवासँग कम्तीमा २० मिनेट छलफल गरेको र मिलेर नयाँ सरकार बनाउन प्रस्ताव गरेको बताइएको छ । 

देउवासँगको भेट सकिएपछि प्रचण्ड आफ्ना पूर्व सहकर्मी एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईलाई भेटन टोखा पुगेका थिए । त्यहाँ डा. भट्टराईका अलवा जसपाका अध्यक्ष उपेन्द्र यादवलागयत नेताहरुसँग पनि प्रचण्डले छलफल गरेका छन् । छलफलमा प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चालेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिटोभन्दा छिटो सरकारबाट हटाउने र संसद पुनस्र्थापनाको निम्ति संघर्षमा सँगै होमिएका शक्तिहरुबीच गठबन्धन गरेर नयाँ सरकार बनाउने विषयमा छलफल भएको थियो । 

यता प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका रुपमा रहेको नेकपा एमालेले पनि सरकारको स्थायित्वका लागि भन्दै जनता समाजवादी पार्टीसँग छलफल अगाडि बढाएको छ । सो पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका नेताहरुसँग सम्वाद अगाडि बढाएको छ । अहिले जसपाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्ता सहकार्य गर्ने कि प्रचण्ड–देउवा पक्षसँग सहकार्य गर्ने भन्ने विवाद देखिएको छ । ठाकुर र महतो प्रधानमन्त्री ओलीसँग सहकार्य गर्ने मनस्थितिमा देखिएका छन् भने डा. भट्टराई र यादवले भने प्रचण्डसँग सहकार्य गर्नुपर्नेमा जोड दिइरहेका छन् । 


 

बुधबार २६ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट