आइतबारको संसद बैठक नेकपा (प्रचण्ड–माधव) समूहद्वारा बहिस्कार, कांग्रेस र जसपाका सांसदले गरे संसदभित्रै नाराबाजी


आइतबारको संसद बैठक नेकपा (प्रचण्ड–माधव) समूहद्वारा बहिस्कार, कांग्रेस र जसपाका सांसदले गरे संसदभित्रै नाराबाजी

Sambodhi Television


फागुन २४, काठमाडौं । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेपछि पुनस्र्थापना भएको प्रतिनिधिसभाको पहिलो बैठक आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको छ । नेकपा नाममा सर्वोच्च अदालतमा रहेको विवादबारे फैसला गर्दै सर्वोच्चले आइतबार संसद बैठक बस्नु केही अगाडि ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिक दिएपछि त्यसले नेकपाका ओली र प्रचण्ड–नेपाल दुवै पक्षलाई तरंगित बनाइदिएको छ । त्यसबीचमा संसद बैठक सुरु हुँदै गर्दा नेकपा (प्रचण्ड–माधव) समूहले आइतबारेको प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । 

बैठक सुरु हुँदै गर्दा प्रचण्ड–माधव समूहका नेता एवं सांसद भीम रावलले वर्तमान सरकार अवैधानिक भएको, प्रधानमन्त्री कुन दलको सांसद रहेको समेत स्पष्ट नभइरहेको बेला प्रतिनिधिसभाको बैठक बस्नु उचित नभएको भन्दै रावलले आफ्नो धारणा राखेका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले वैधता गुमाइसकेपछि सरकारको नेतृत्व गर्नु सरासर गलत रहेको टिप्पणी गरेका थिए । त्यसपछि सो समूहका सांसदहरु संसद भवनबाट बाहिरिएका थिए ।

नेकपा प्रचण्ड–माधव समूहका सांसदहरु बैठक बहिस्कार गरेर बाहिरिएपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अगाडि बढाउन तयारी गरेका थिए । पुनस्र्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा अन्य रोमाञ्चक गतिविधिहरु समेत देखिएका थिए । पहिलो कुरा सत्तारुढ दलमा आएको विभाजनको कारण सत्तापक्षकै एकाथरि सांसदहरुले संसद बैठकमा सहभागिता जनाएका थिए भने अर्को पक्षले बहिस्कार गरेको थियो । बहिस्कार गर्ने समूह बाहिर निस्किसकेपछि विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरुले नाराबाजी गरेको दृश्य आइतबारको संसद बैठकमा देख्न सकिन्थ्यो । 
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले फागुन ११ गते पुनस्र्थापित गरिदिएको थियो । अदालतले प्रतिनिधिसभा पुनस्र्थापना मात्रै गरिदिएन, १३ दिनभित्र बैठक बोलाउनु भन्ने परमादेश समेत दिएको थियो । अदालतको सोही परमादेश अनुसार सरकारको सिफारिसमा राष्ट्रपतिले आइतबार संसद बैठक आब्हान गरेकी थिइन् । 

संसद बैठक बस्ने तयारी भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी सत्तारुढ नेकपाकै प्रचण्ड–माधव पक्षले गरेको थियो । तर निर्वाचन आयोगले पार्टी विभाजनलाई मान्यता नदिएको र कानुनी अडचनका कारण प्रधानमन्त्री ओली विरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी अन्यौलतामै वित्यो । अर्कातिर सत्तारुढ दल नेकपाको नाम सम्बन्धी मुद्दा समेत सर्वोच्च अदालतमा विचाराधिन रहेको र आइतबार नै नामबारे अन्तिम फैसला गर्ने तयारी भइरहँदा संसद बैठक सुरु हुनु केही समय अगाडि मात्रै सत्तारुढ नेकपाको दुवै समूहको नामलाई अवैधानिक घोषणा गरेपछि संसद बैठकमा रोचक दृश्यहरु देखिन पुगेका हुन् । सत्तापक्षकै प्रचण्ड–नेपाल समूहले बहिस्कार गरेको बैठक विपक्ष दल नेपाली कांग्रेस र जसपाका सांसदहरुको नाराबाजीका बीच आइतबारको संसद बैठक स्थगित हुन पुग्यो । अर्को बैठक फागुन २६ गते बस्नेगरी सभामुख अग्निप्रसाद सापकोटाले आइतबारको संसद बैठक स्थगित गरेका छन् । 
 

सोमबार २४ फाल्गुन, २०७७



यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु


ताजा अपडेट